“मेरो गीत अब केवल गीत मात्र रहेन, यो त देश बनाउने महाअभियान बन्यो”— गीतकार शशि शर्मा मजगैयाँ
काठमाडौँ – नेपाली सङ्गीत र साहित्यमार्फत सामाजिक चेतना फैलाउन सक्रिय प्रखर गीतकार शशि शर्मा मजगैयाँले आफ्नो पछिल्लो सिर्जना ‘जाग युवा, उठ युवा’ ले साङ्गीतिक घेरा नाघेर एउटा राष्ट्रिय अभियानको रूप लिएको बताएका छन्। देशमा व्याप्त निराशालाई चिर्न र युवाहरूलाई सिर्जनात्मक कार्यमा जोड्न लेखिएको यो गीत यतिबेला युवा पुस्तामाझ एउटा सशक्त वैचारिक आन्दोलनका रूपमा स्थापित भएको छ।
गीतकार मजगैयाँका अनुसार हालै सम्पन्न निर्वाचनबाट ठुलो सङ्ख्यामा युवाहरू जनअनुमोदित भई नीति निर्माणको तहमा पुग्नुले यो गीतको मर्मलाई थप पुष्टि गरेको छ। “मैले यो गीत लेख्दा युवाहरूमा जुन निराशा थियो, त्यसलाई चिरेर आशा जगाउने एउटा प्रयास गरेको थिएँ,” उनले भने, “आज सदनदेखि गाउँसम्म युवा नेतृत्वको जुन लहर देखिएको छ, यसले मेरो शब्द सिर्जनाले वास्तविक सार्थकता पाएको महसुस गराएको छ। अब यो केवल गीत मात्र रहेन, यो त देश बनाउने महाअभियान बन्यो।”
उनले आफ्नो यो गीत समग्र देश बनाउने र युवा शक्तिलाई ‘फुटेर होइन, जुटेर’ राष्ट्रिय समृद्धिको दिशामा अघि बढाउने एउटा बलियो कडी भएको दाबी गरे।
गीतले युवाहरूलाई विदेश पलायन हुनुको सट्टा स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न र उद्यमशीलतालाई अँगाल्न प्रेरित गर्छ। “हाम्रो देशको युवा शक्ति विदेशमा पसिना बगाइरहेको छ, तर अब स्वदेशमै केही गर्नुपर्छ र आफैँले आफैँलाई रोजगारी दिनुपर्छ भन्ने सन्देश यो गीतले दिन्छ,” मजगैयाँ थप्छन्। सिर्जनात्मक नेतृत्वमार्फत देश बनाउने यस्तो महान् अभियानको हिस्सा बन्न पाउँदा आफू निकै खुसी र उत्साहित रहेको उनले बताए।
यो ऊर्जावान् गीतमा चर्चित गायक शिव परियार र गायिका इन्दिरा जोशीको ओझिलो स्वर रहेको छ। सङ्गीतकार बीपी वाग्लेको सङ्गीत संयोजन र सरोज बानियाँको अवधारणा तथा निर्माणमा तयार भएको यो गीतले डिजिटल प्लेटफर्महरूमा पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।
वर्तमान समयमा युवाहरूले देखाएको राजनीतिक र सामाजिक सक्रियताले गीतकार मजगैयाँको ‘जाग युवा, उठ युवा’ को सपनालाई विपनामा परिणत गर्न थप ऊर्जा प्रदान गरेको छ।
गीत
