सर्जकलाई अंकुश लगाउने प्रयास विफल: शशि शर्मा मजगैयाँको टिमलाई कानुनी राहत
काठमाडौँ — नेपाली कला र सिर्जनाको क्षेत्रलाई कानुनी जटिलतामा पारेर सर्जकहरूमाथि अंकुश लगाउने प्रतिपक्षीको प्रयास अदालतले असफल तुल्याइदिएको छ। काठमाडौँ जिल्ला अदालतमा विचाराधीन प्रतिलिपि अधिकार (Copyright) सम्बन्धी एक महत्वपूर्ण मुद्दामा प्रतिपक्षीले माग गरेको निषेधाज्ञा (Stay Order) जारी नगर्ने फैसला गर्दै अदालतले सर्जकको पक्षमा न्यायको ढोका खोलेको हो।
यस मुद्दामा सर्जक तथा अधिवक्ता अधिवक्ता शशि शर्मा मजगैयाँ र वीरेन्द्र गौतमको नेतृत्वमा रहेको कानुनी टोलीले सशक्त बहस पैरवी गरेको थियो। प्रतिपक्षीले सिर्जनामाथि बन्देज लगाउने उद्देश्यले निषेधाज्ञाको माग गरे तापनि अधिवक्ता मजगैयाँ र गौतमले त्यसको विरुद्धमा बलियो कानुनी तर्कहरू प्रस्तुत गर्नुभएको थियो। बहसका क्रममा अधिवक्ताद्वय प्रतिमा कार्की र जीवन बस्नेतले समेत साथ दिँदै सर्जकको सिर्जनात्मक स्वतन्त्रता र बौद्धिक सम्पत्तिको रक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो।
अदालतले निषेधाज्ञा जारी नगर्ने आदेश दिएसँगै प्रतिपक्षीले सिर्जना रोक्नका लागि प्रयोग गरेको ‘कानुनी अस्त्र’ विफल भएको छ। यसलाई अधिवक्ता मजगैयाँले सर्जकहरूको साझा जितको रूपमा अर्थ्याउनुभएको छ। उहाँले भन्नुभयो, “यो कानुनी राहतले के प्रमाणित गरेको छ भने सर्जकको पसिना र सिर्जनालाई कसैले पनि अनुचित ढंगले बन्धक बनाउन सक्दैन। मुख्य मुद्दा प्रक्रियामै रहे पनि यो प्रारम्भिक जितले नेपाली सिर्जनाकर्मीहरूलाई ठूलो राहत र हौसला प्रदान गरेको छ।”
लामो समयदेखि गीत-संगीत र कानुन दुवै क्षेत्रमा सक्रिय मजगैयाँको यो पहलले नेपाली प्रतिलिपि अधिकारको आन्दोलनमा एउटा महत्वपूर्ण इँटा थपेको छ। यो फैसलाले आगामी दिनमा सर्जकहरूका हकहित रक्षाका लागि एउटा बलियो नजिर स्थापना गर्ने विश्वास लिइएको छ।
